यि हुन् ओखलढुंगाको भदौरे स्थित बोहोरे टोलमा हत्या गरिएका राई दम्पत्ति
ओखलढुंगा । ओखलढुंगाको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ।
सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो।
पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो।
घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो। उनले भने, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।”
हत्या गरिएका चन्द्रबिक्रम राई र चन्द्रमाया राई दम्पतिको शब पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य अस्पताल रूम्जाटार लगिएको छ।


