उर्लाबारीमा सनम थोकर लामाको कमाण्डरमा नेशनल भोलेन्टियर फोर्स गठन
उर्लाबारी । नेकपा एमालेले उर्लाबारीमा नगर स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गरेको छ । समाजमा हुने नकारात्मक गतिविधिलाई निरुत्साहित गर्दै सकारात्मक र रचनात्मक अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले फोर्स गठन गरिएको मोरङ जिल्ला प्रमुख कमान्डर योगराज लाबुङ लिम्बूले जानकारी दिए ।
लाबुङका अनुसार आसन्न निर्वाचनमा एमाले उम्मेद्वार घनश्याम खतिवडाको जित सुनिश्चित गर्न नगर स्तरीय फोर्सले युवा परिचालन गर्नेछ ।
उर्लाबारीस्थित हाम्रो बचत सहकारीको सभाहलमा एक कार्यक्रमकाबीच सनम थोकर लामाको कमाण्डमा एक सय एक सदस्यीय फोर्स निर्माण गरिएको हो ।
उर्लाबारीका सबै वडाको प्रतिनिधित्व रहने गरी विपिन बान्तवा राई र उज्वल लिम्बूलाई सह–कमाण्डर रहने गरी संगठन संरचना तय गरिएको जनाइएको छ । कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै जिल्ला कमाण्डर लाबुङले आवश्यक परे पार्टीविरुद्ध हुने कुनैपनि परिस्थितिमा प्रतिकारात्मक भूमिका खेल्न संगठन विस्तार गरिएको बताए ।
फोर्स गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि फोर्सका केन्द्रीय सह कमाण्डर अमित पौडेलले नेशनल भोलिन्टियर फोर्स समयको माग र देशको आवश्यकताले जन्मिएको बताउदै उनले आफ्ना विविध आवश्यकता पूरा गर्न देश जलाउने, देश ध्वस्त पार्ने तत्वहरुलाई सबक सिकाउन फोर्स तयार पारिएको स्पष्ट पारे ।
नव निर्वाचित प्रमुख कमाण्डर सनम लामाले संगठनलाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै युवाशक्तिलाई सकारात्मक दिशामा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उर्लाबारी नगर क्षेत्रमा संगठनलाई नमुना रूपमा स्थापित गर्ने लक्ष्यसमेत सार्वजनिक गरे ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतम, उर्लाबारीका मेयर गंगाप्रसाद खरेल, भोलिन्टियर फोर्सका केन्द्रिय सदस्य राजकुमार थापा, जगत राई, जयप्रकाश रायमाझीलगायतले एकताबद्ध भएर संगठनलाई चुनाव परिचालनमा केन्द्रित हुन आह्वान गरेका थिए ।
यसैबीच एमाले उर्लाबारीका उपाध्यक्ष सुरेश शाक्यले भयरहित, शान्तिपूर्ण र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउन तथा संगठनात्मक गतिविधि प्रभावकारी बनाउन फोर्सको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी, योगेश बस्नेत, ज्योती चौहान,युवा संघ मोरका अध्यक्ष प्रवीण घिमिरे, एमाले केन्द्रिय अनुशासन आयोगकी पुर्व सदस्य लक्ष्मिदेवी भण्डारी, ३ नम्बर वडाका वडाध्यक्ष भिष्मराज बुढाथोकी , ५ नम्बर वडाका वडाध्यक्ष रविन लामालगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।


