रवि लामिछानेलाई दमौलीमा कालोझण्डा
काठमाडौ । रवि लामिछाने लाई तनहुँको दमौलीमा उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले कालोझण्डा देखाएका छन्। चुनावी प्रचारका क्रममा दमौली पुगेका लामिछानेसहित डा. स्वर्णिम वाग्ले विरुद्ध विरोध प्रदर्शन गरिएको हो।
दमौलीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन लामिछाने र वाग्ले पुग्दै गर्दा दर्जनौँको संख्यामा रहेका उज्यालो नेपाल पार्टी का कार्यकर्ताहरूले कार्यक्रम स्थलभन्दा केही पर बाटो छेकेर प्रदर्शन गरेका थिए। उनीहरूले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए।
रविको गाडी कार्यक्रम स्थलतर्फ बढेपछि प्रहरीले प्रदर्शनकारीहरूलाई पन्छाएर बाटो खुला गराएको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल हुँदा सामान्य बल प्रयोग गरिएको जनाइएको छ। झडपमा एकजना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।
प्रदर्शनपछि लामिछाने र वाग्ले कार्यक्रम स्थलतर्फ अघि बढेका थिए। विरोधका बाबजुद दमौलीमा आयोजित रास्वपाको कार्यक्रम भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
स्वर्णिमको क्षेत्रमा आएनन् बालेन
दमौली कार्यक्रममा लामिछानेसँगै बालेन्द्र साह पनि सहभागी हुने चर्चा थियो। वाग्लेले नै लामिछाने र बालेनको भ्रमण रुटसहितको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
तर अन्तिम समयमा बालेन तनहुँ पुगेनन्। चितवनमा लामिछानेसँगै मञ्च साझा गरेका उनी त्यहाँबाट सिधै काठमाडौं फर्किएको जनाइएको छ।
दमौली घटनाले तनहुँ–१ क्षेत्रमा चुनावी सरगर्मी बढाएको छ। विरोध र सुरक्षा व्यवस्थाका बीच राजनीतिक गतिविधि तीव्र बन्दै गएको देखिन्छ।


