बन्चरो प्रहार गरी श्रीमतीको हत्या
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते भन्ने वीरबहादुर राईले घरको कोठामा आफ्नी श्रीमती अन्दाजी ४५/४६ वर्षीया रिता राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जानकारी दिए ।
उनका अनुसार रिताको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी सहायक निरीक्षक नरेश कुमार रायको कमाण्डमा १२ जनाको टोली घटनास्थल गएका थिए।
प्रहरीले आरोपित श्रीमान्लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको छ।
प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा मुचुल्का टोली घटनास्थलमा खटिएको छ।


