ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान
ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत फुङलिङ नगरपालिका–९ हाङ्देवा स्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको हो ।
१०३ वर्षीया नर्वदा कार्कीलाई छोरा नेत्र प्रसाद कार्कीले पिठ्युमा बोकेर मतदान केन्द्र पुर्याउनु भएको थियो । जिल्लामा बिहीबार दिउसो २ः१० बजेसम्ममा ३८ हजार ५ सय ५४ मत खसेको छ । जसमा २० हजार ६२८ पुरुष र १७ हजार ८९६ महिला रहेका छन् । जिल्लमा कुल ९० हजार ३२७ मतदाता रहेका छन् ।
ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।-रेडियो काबेली


