मोरङ १ मा ६०.३६ प्रतिशत मतदान,मतपेटिका संकलन जारी,सर्बदलिय बैठकपछि गणना
मोरंग । मोरङ–१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६०.३६ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ–१ मा रहेका कुल १ लाख २८ हजार मतदातामध्ये करिब ६०.३६ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मोरङ–१ अन्तर्गत १५१ वटा मतदान केन्द्र रहेका छन्। मिक्लाजुङ, लेटाङ र केराबारी अर्धपहाडी क्षेत्र भएकाले ती स्थानबाट मतपेटिका संकलन गरेर निर्वाचन कार्यालयसम्म ल्याउन केही समय लाग्ने भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार हालसम्म उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका मतपेटिका निर्वाचन कार्यालयमा आइपुगेका छन्। तर केराबारी गाउँपालिका र लेटाङ नगरपालिकाका मतपेटिका आउन बाँकी रहेकाले सबै मतपेटिका संकलन हुन अझै केही समय लाग्ने बताइएको छ।
निर्वाचन अधिकृत प्रकाश घिमिरे का अनुसार बाँकी रहेका मतपेटिका राति करिब १० बजेसम्म निर्वाचन कार्यालयमा आइपुग्ने अपेक्षा गरिएको छ। त्यसपछि सर्वदलीय बैठक बसेर सहमतिको आधारमा मतगणना प्रक्रिया सुरु गरिने उहाले जानकारी दिनुभयो ।
यसैबीच, मोरङ–१ का सुरक्षा कमान्डर डिएसपी अमर थापा का अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
अहिले सबै मतपेटिका सुरक्षित रूपमा संकलन गर्ने कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।


