नेकपामा ७ लाखभन्दा बढी मतको खोजी, प्रचण्डले दिए कारबाहीको चेतावनी
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ लाखभन्दा बढी मत घटेको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीभित्र चर्चा भएको छ । निर्वाचनबाट निर्णायक शक्तिको रूपमा स्थापित हुने आन्तरिक मूल्याङ्कन फेल खाएपछि नेकपाले १६५ निर्वाचन क्षेत्रको वस्तुगत रिपोर्ट पठाउन तल्ला समितिलाई निर्देशन दिएको छ ।
फागुन २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निर्वाचन परिचालन समितिको बैठकमा नेकपाले चुनावी परिणमबारे प्रारम्भिक समीक्षा गरेको थियो ।
तीन वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १० सिट र समानुपातिकतर्फ ७ लाखभन्दा बढी मत घटेपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रोशित भए । जिल्ला–जिल्लाबाट केन्द्रीय सदस्यहरूले समेत राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेको रिपोर्ट आएको भन्दै प्रचण्डले उनीहरूलाई कारबाही गर्ने चेतावनी दिए ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै उनले सबै निर्वाचन क्षेत्रबाट ठोस रिपोर्ट आएपछि कारबाही सुरु गर्ने चेतावनी दिए । कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु हुने उनको भनाइ थियो ।
‘कसले भोट हालेनन् ? कसले घन्टीमा हाले, त्यो रिपोर्ट दिनै पर्यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन । सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट कारबाही सुरु गरिन्छ’, प्रचण्डले भनेका थिए, ‘पचास प्रतिशत घन्टीमा गएको सामान्य रिपोर्ट आएको छ । ठोस रूपमा ल्याउनोस् । तिनलाई हामीले आँखा चिम्लिएर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो । नयाँ पार्टी बनाउने सुरुवात हुने हो ।’
२०७९ सालको निर्वाचनमा साविक नेकपा माओवादी केन्द्रले मात्र ११ लाख ७५ हजार ६८४ मत ल्याएको थियो । अर्को घटक नेकपा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको थियो । निर्वाचन अगाडि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत २५ घटक मिलेर नेकपा गठन भएको थियो । यी दुई पार्टीको कुल मत १४ लाख ७४ हजार ७५ थियो ।
त्यसमा जनता समाजवादी पार्टी, नागरिक उन्मिुक्ति पार्टी लगायत घटकबाट करिब ५० हजार मत थपिएको अनुमान गरिएको थियो । यी सबै पार्टीले पाएको कुल मत १५ लाख २४ हजार ७५ भएको आन्तरिक विश्लेषण गरिएको थियो ।
अघिल्ला निर्वाचनमा गठबन्धनका कारण सीमित क्षेत्रमा मात्र उम्मेदवार उठाइएको कारण समानुपातिक मत प्राप्त नभएको आन्तरिक निष्कर्ष निकालेको थियो । योपटक १६४ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएकाले पनि समानुपातिक मत बढ्ने विश्लेषण नेकपाले निकालेको थियो । तर निर्वाचन आयोगले सार्वजनिक गरेका अन्तिम चुनावी परिणाम अनुसार नेकपाले ८ लाख ११ हजार ५७७ मात्र मत प्राप्त गर्यो ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी माओवादी केन्द्र एक्लैले ३२ सिट जितेको थियो । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट र नाउपाले चार सिट जितेको थियो । मधेस, सुदूरपश्चिम प्रदेशमा जनमत रहेको एकीकृत समाजवादी र नाउपाको बहुमत पक्ष एकता प्रक्रियामा आएकाले कम्तीमा ४५ सिट जित्न सक्ने नेकपाले आन्तरिक मूल्याङ्कन गरेको थियो ।
यद्यपि योपटक सिट संख्या १७ मा खुम्चिँदै पार्टी चौथो स्थानमा धकेलिएपछि नेकपाभित्र पार्टी पुनर्गठनको कुरा जोडतोडले उठेको बेला प्रचण्डले सबै निर्वाचन क्षेत्रको रिपोर्ट पेस गर्न निर्देशन दिए । कार्यक्रममा उनले भौतिक पूर्वाधार विकास, पैसा, बलियो संगठन भएरमात्र चुनाव जित्न सकिने भाष्य पनि गलत भएको निष्कर्ष सुनाए ।


