संसदको पहिलो बैठकमै एमसीसी खारेज गर्ने प्रस्ताव अघि सार्ने हर्क साम्पांगको घोषणा
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने प्रस्ताव पहिलो बैठकमै अघि सार्ने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गर्दै राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय स्तरमा आत्मनिर्भरता पार्टीका मुख्य प्राथमिकता रहने स्पष्ट पारेका छन् ।
राईले वैदेशिक सहायता परियोजनाहरू, विशेष गरी एमसीसी जस्ता कार्यक्रमहरू खारेज गर्दै वैदेशिक हस्तक्षेपमुक्त नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार देशको दीर्घकालीन विकासका लागि आत्मनिर्भर आर्थिक संरचना आवश्यक छ ।
शिक्षा क्षेत्रमा पनि सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रणाली लागू गर्नुपर्ने उनको धारणा छ । साथै, सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ गर्दै त्यहाँका नागरिकको जीवनस्तर सुधार गर्न विशेष कार्यक्रम ल्याउने उनले बताएका छन् ।
राईले ‘एक पालिका एक उद्योग’ अवधारणालाई अघि सार्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना प्रस्तुत गरेका छन् । यसबाट स्वदेशमै रोजगारी सिर्जना हुने र आयातमा निर्भरता घट्ने अपेक्षा गरिएको छ ।
उनले लेखेका छन्, “पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेज, शिक्षामा तात्त्विक परिवर्तन, सीमा रक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास, आर्थिक विकास र एक पालिका एक उद्योग हुनेछ ।”
श्रम संस्कृति पार्टीले यी एजेन्डामार्फत आफ्नो राजनीतिक उपस्थितिलाई बलियो बनाउने प्रयास गरेको देखिन्छ । साथै, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरतालाई केन्द्रमा राखेर नयाँ राजनीतिक बहस सुरु गर्ने संकेत पनि दिएको छ ।


