ओली पक्राउको विरोधमा आज एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने
काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरूले आज पनि देशभर प्रदर्शन गर्ने भएका छन् ।
एमाले सचिवालय बैठकको निर्णयअनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।
शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित बनेको छ । शनिबार काठमाडौंको माइतीघर र भृकुटीमण्डपमा प्रदर्शन भएका थिए भने विभिन्न जिल्लामा पनि विरोध प्रदर्शन गरिएको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शुक्रबार बालेन नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै शनिबार बिहान ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।


