१३ दिन गैरकानुनी हिरासतमा राखियो,प्रमाण नपुगेपछि सरकार पछि हट्यो :एमाले अध्यक्ष ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित हुन नसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरी १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको उल्लेख गरेका छन्। मुद्दा चलाउने आधार नपुगेपछि अन्ततः रिहा भएको उनको दाबी छ।
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सर्वसाधारण, कानुन व्यवसायी, राजनीतिक दलका नेताहरू तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति सम्मान प्रकट गरेका छन्। उनले न्यायको पक्षमा उभिने सबैप्रति धन्यवाद दिँदै यस घटनाले राजनीतिक प्रतिशोधको चरित्र उजागर गरेको बताएका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै उनले प्रहरी प्रशासन र त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीप्रति कृतज्ञता जनाएका छन्। रिहाइको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए पार्टीले नै जिम्मेवारी लिने स्पष्ट पारेका छन्।


