रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार लेबी बुझाउनुपर्ने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री र सांसदहरूका लागि मासिक लेबी निर्धारण गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी सम्बन्धी प्रस्ताव पारित गर्दै नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार अब मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ र सांसदहरूले १६ हजार ५०० रुपैयाँ पार्टीलाई लेबी तिर्नुपर्नेछ। पार्टी संगठनलाई व्यवस्थित र आर्थिक रूपमा सबल बनाउन यस्तो निर्णय गरिएको बताइएको छ।
त्यसैगरी स्वकीय सचिवहरूका लागि पनि २ हजार रुपैयाँ लेबी तोक्ने प्रस्ताव पारित भएको छ। हाल यो व्यवस्था मन्त्रीका स्वकीय सचिवका हकमा लागू हुने जनाइएको छ।
सांसदहरूले स्वकीय राख्ने व्यवस्था कार्यान्वयनमा आएमा उनीहरूका स्वकीय सचिवहरूले पनि मासिक २ हजार रुपैयाँ लेबी तिर्नुपर्ने प्रावधान रहनेछ। पार्टीले आन्तरिक स्रोत व्यवस्थापन र संगठन सञ्चालनलाई प्रभावकारी बनाउन यो नीति अघि सारेको जनाएको छ।


