सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनिसके : हर्क साम्पांग
काठमाडौ । हर्क साम्पाङ ले पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीसँग जोडिइसकेको बताएका छन्। पछिल्लो समय सुदन किराँतीको राजनीतिक यात्रालाई लिएर विभिन्न चर्चा भइरहेका बेला हर्कले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
हर्कले फेसबुकमा लेखेका छन्, “सुदन किरातीज्यू श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ। यो, त्यो भनेर अफवाह नफैलाउनू।”
पछिल्ला केही दिनदेखि सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको थियो। विशेषगरी हर्क साम्पाङसँग भएको भेटवार्ता र सहकार्यको सम्भावनापछि यो विषय थप चर्चामा आएको थियो।
यद्यपि, सुदन किराँतीले अहिलेसम्म औपचारिक रूपमा पार्टी प्रवेशको घोषणा गरेका छैनन्। तर हर्क साम्पाङको पछिल्लो अभिव्यक्तिलाई भने राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार सुदन किराँतीजस्ता स्थापित नेताको श्रम संस्कृति पार्टीसँगको निकटताले वैकल्पिक राजनीतिक शक्तिको बहसलाई थप बल पुर्याउन सक्छ। पछिल्लो समय परम्परागत दलप्रति असन्तुष्टि बढिरहेका बेला नयाँ राजनीतिक समीकरण र सहकार्यको चर्चा पनि तीव्र बन्दै गएको छ।


