प्रधानमन्त्री बालेन शाहको राजीनामा माग
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेको छ ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमार्फत सांसद साम्पाङले प्रधानमन्त्रीले संसद्को अपमान गरेको, संसदीय परम्परालाई बेवास्ता गरेको तथा जनताको सार्वभौम संस्थाप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री अनुपस्थित रहेको, संसद्मा उठेका प्रश्नहरूको जवाफ नदिएको तथा संसदीय मर्यादा कायम गर्न असफल भएको उल्लेख गरिएको छ । साम्पाङले प्रधानमन्त्रीको उक्त व्यवहारले लोकतन्त्रप्रतिको जनविश्वास कमजोर बनाएको दाबी गरेका छन् ।
उनले प्रधानमन्त्रीमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको आरोप लगाउँदै जनताका प्रश्नबाट भाग्ने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने टिप्पणी गरेका छन् ।
विज्ञप्तिमा प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिन आग्रह गरिएको छ । “कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने भएकाले न्यूनतम जिम्मेवारी समेत पूरा गर्न नसक्ने व्यक्तिले मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।



