गाँजा खेतीलाई वैधानिकता दिन सरकारसँग सांसद राईको माग
काठमाडौँ । धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई गाँजा खेतीलाई वैधानिकता दिन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले गाँजा खेती जनताको आम्दानीको प्रभावकारी स्रोत बन्न सक्ने भएकाले यसलाई कानुनी मान्यता दिनुपर्ने बताएका हुन् । उनले धनकुटामा गाँजा खेतीबाट स्थानीयको आयआर्जन बढेको उदाहरण प्रस्तुत गर्दै अब राज्यले स्पष्ट नीति बनाएर यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे ।
“अहिले पनि जनताले लुकिछिपी गाँजा खेती गरिरहेका छन्,” उनले भने, “देशमा आर्थिक समृद्धि हासिल गर्ने र रोजगारी सिर्जना गर्ने हो भने नीतिगत तथा वैधानिक रूपमा गाँजा खेतीलाई अनुमति दिनुपर्छ ।”
सांसद राईले गाँजा बहुउपयोगी वनस्पति भएको उल्लेख गर्दै यसबाट औषधि, कपडा तथा अत्तर लगायतका सामग्री उत्पादन गर्न सकिने बताए ।
फरक प्रसङ्गमा उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन नसक्नु रास्वपाको कमजोरी भएको टिप्पणी समेत गरे ।


