सहिद भीमनारायण गोल्डकप : बिर्तामोड युनाइटेड सेमिफाइनलमा
आजको खेल आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान र भारतको कालिम्पोङस्थित जर्जियन फुटबल क्लबबीच हुने
धनकुटा । धनकुटामा जारी १८ औँ संस्करण सहिद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
तल्लो टुँडिखेलमा हिजो सम्पन्न क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यसअघि सिराहाको सहलेस युवा क्लब पनि सेमिफाइनलमा पुगिसकेको छ ।
बिर्तामोडको जितमा कप्तान आशिष चापागाईं र प्रदीप बुढाथोकी चम्किए । खेलको पहिलो हाफमा प्रदीपले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा कप्तान चापागाईंले दुई गोल थपेपछि बिर्तामोडले सहज जित निकाल्न सफल भयो ।
गाईघाट युनाइटेडका सुनिल खड्काले एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । सुनिलको गोलपछि आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि तेस्रो गोल गरेपछि बिर्तामोडको जित पक्का भएको थियो ।
उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड युनाइटेडका कप्तान आशिष चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ६ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान र भारतको जर्जियन फुटबल क्लब, कालिम्पोङबीच क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


