धनकुटाको सहिदभूमिमा संचालित नवौँ “सरस्वती कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि त्रिवेनी पुलिस फुटबल क्लबलाई
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ गोपालपुरस्थित सरस्वती खेलमैदानमा सञ्चालन भइरहेको नवौँ “सरस्वती कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
“सक्षम खेलाडी, प्रतिष्ठाको खेलकुद” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा त्रिवेनी पुलिस फुटबल क्लबले उपाधि जित्न सफल भएको छ।
फाइनल खेलमा दुवै टिम बराबर भएपछि पेनाल्टी सुटआउट मार्फट त्रिवेनी पुलिस फुटबल क्लबले पिएस कलेक्सन धरानलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगिता जेष्ठ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको हो।
प्रतियोगितामा विजेता बनेको त्रिवेनी पुलिस फुटबल क्लबले नगद रु. ८०,०५१, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता पिएस कलेक्सन धरानले नगद रु. ४०, ०५१, सहित ट्रफी र मेडल प्राप्त गरेको छ।
खेलाडीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आयोजकले विभिन्न विधागत पुरस्कारहरू समेत वितरण गरेको थियो। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको छ।
खेलहरू प्रचलित फिफा नियमअनुसार सञ्चालन गरिएको थियो। प्रतियोगितामा सहिदभूमि गाउँपालिका र वडा नं. १ कार्यालय सहयोगी संस्थाका रूपमा रहेका थिए। साथै, इन्टरनेट पार्टनरका रूपमा माउन्टलिंक र प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘स्पोर्टिङ नेपाल’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।


