धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप : बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश
धनकुटा । जेठ १० गतेदेखि धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप को १८औँ संस्करणअन्तर्गत हिजो भएको खेलमा बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सलहेश फुटबल क्लब, बिर्तामोड युनाइटेड क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान ले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।
धनकुटाको तल्लो टुँडिखेल मा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बेलबारीले सातदोबाटो युथ क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८०औँ मिनेटमा बेलबारीका विदेशी खेलाडी बाबा टुण्डेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । सातदोबाटोले लगातार आक्रमण गरे पनि बेलबारीका गोलकिपर अजय परियारले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई संकटबाट जोगाएका थिए ।
निर्णायक गोलकर्ता बाबा टुण्डे ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
अब बिहीबार हुने पहिलो सेमिफाइनलमा सलहेश फुटबल क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब र बेलबारी फुटबल क्लब आमनेसामने हुनेछन् । दुवै खेलका विजेताबीच जेठ १६ गते उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।


