धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप : आयोजक फाइनलमा प्रवेश
धनकुटा । घरेलु मैदानको फाइदा उठाउँदै सहिद भीमनारायण स्मृति प्रतिष्ठान १८औँ संस्करणको सहिद भीमनारायण गोल्ड कप को फाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेल मा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक टोलीले सलहेश फुटबल क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
आयोजक टोलीका अमित भेश्राले खेलको १०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उक्त गोलले आयोजक टोलीलाई फाइनलसम्म पुर्याउन सफल बनाएको हो ।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका विवेक गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ६ हजार ५ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनलमा विर्तामोड युनाइटेड क्लब र बेलवारी फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठान को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।


