धनकुटाको सहिदभूमिमा सम्पन्न १३औँ छिन्ताङ सहिद कपको उपाधि सिर्जनशिल युवा क्लबलाई
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङस्थित सफाइटारको लामेचौर खेलमैदानमा १३औँ छिन्ताङ सहिद कप खुला पुरुष फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगिता जेठ २८ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको हो।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली उपस्थित भएका थिए। प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।
“सक्षम खेलाडी, प्रतिस्पर्धी खेलकुद” भन्ने नारासहित वीर सहिदहरूको नाममा सञ्चालन गरिएको उक्त प्रतियोगितामा सिर्जनशिल युवा क्लबले उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा सिर्जनशिल युवा क्लबले सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगितामा विजेता बनेको सिर्जनशिल युवा क्लबले नगद रु. १,११,१११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सरस्वती युवा क्लबले नगद रु. ५५,५५५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
खेलाडीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आयोजकले विभिन्न विधागत पुरस्कारहरू समेत वितरण गरेको थियो। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक सहिदभूमि गाउँपालिका रहेको थियो भने सह-प्रायोजकका रूपमा सहिदभूमि गाउँपालिका वडा नं. १ कार्यालय रहेको थियो। प्रतियोगिताको आयोजना मितेरी युवा क्लबले गरेको हो। त्यसैगरी इन्टरनेट पार्टनरका रूपमा माउण्टलिंक रहेको थियो।
खेलहरू प्रचलित फिफा नियमअनुसार सञ्चालन गरिएको थियो। प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘मेरो गन्तव्य’को फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

