इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
इलाम । जिल्ला प्रशासन कार्यालय इलामले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने पूर्वानुमानसँगै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसमी बुलेटिनअनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। प्रशासनका अनुसार इलाममा पनि गत वर्षझैँ अत्यधिक वर्षा भई बाढी, पहिरो तथा अन्य विपद्का घटना दोहोरिन सक्ने जोखिम रहेको छ।
प्रशासनले विशेषगरी खोला, खहरे तथा पहिरोको जोखिम भएका क्षेत्रमा यात्रा गर्दा र नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेको छ।
यस्तै, डुबानको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित तथा उँचो स्थानको पहिचान गरी आवश्यक परे तत्काल स्थानान्तरण हुन आग्रह गरिएको छ।
यसैबीच नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न पनि प्रशासनले आग्रह गरेको छ।
प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ हटलाइन नम्बर प्रयोग गर्न अनुरोध गरेको छ।
साथै, जल तथा मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना र चेतावनी नियमित रूपमा पछ्याउन सबैलाई आग्रह गरिएको छ।


