भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको २० लाखभन्दा बढी मूल्यका ३५ थान आईफोन सहित एक जना पक्राउ
रुपन्देही । जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिका–५ बेनिनगरबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही गाउँपालिका–२ बस्ने ३६ वर्षीय पवनकुमार मुराव रहेका छन् । निजलाई भारतबाट भन्सार छली गरी ल्याइएका सामग्रीसहित नियन्त्रणमा लिइएको हो ।
निजले चलाएको UP 53 DX 8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा विभिन्न मोडेलका ३५ थान आईफोन फेला परेको प्रहरीले जनाएको छ । बरामद मोबाइलको अनुमानित मूल्य करिब १९ लाख ७० हजार रुपैयाँ रहेको छ भने मोटरसाइकलको मूल्य ८० हजार रुपैयाँ अनुमान गरिएको छ ।
बरामद आईफोन र मोटरसाइकलको कुल मूल्य करिब २० लाख ५० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । बरामद सामान, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


