पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाउने निर्णय गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ। नयाँ मूल्यअनुसार १४.२ केजीको एक सिलिन्डर एलपी ग्यास अब २ हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य २ हजार १ सय ६० रुपैयाँ थियो।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा ग्यासको मूल्य पनि घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको हो।
नयाँ व्यवस्थाअनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १ हजार ५ सय ६६ अमेरिकी डलर निर्धारण गरिएको छ।
त्यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ‘ब्रेक–इभेन पोइन्ट’का आधारमा मूल्य निर्धारण गरिएको निगमले जनाएको छ। जसअनुसार पोखरामा प्रतिकिलोलिटर १ हजार १ सय अमेरिकी डलर र भैरहवामा १ हजार ८५ अमेरिकी डलर कायम गरिएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।



