स्कुल बसको लापरवाहीले दर्दनाक दुर्घटना, ५ वर्षीया बालिका र सहचालकको मृत्यु
सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको ज्यान गएको छ।
बुधबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। बालिका बसबाट ओर्लिएलगत्तै बस अगाडि बढ्दा पछाडिको चक्काले उनलाई किचेको थियो।
दुर्घटनामा बसका सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी–२ पर्सामा बस्दै आएकी ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारले नियन्त्रणमा लिएको छ। घटनापछि फरार रहेका चालकको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


