नयाँ राहादानी प्रणाली लागु हुदैँ, अबरोध हुन सक्ने
सञ्जय मिश्रा/रौतहट, १८ असार। राहदानी विभागले नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी तीव्र पारेसँगै जिल्ला प्रशासन कार्यालय रौतहटले राहदानी सेवा केही समय प्रभावित हुन सक्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साहले बिहीबार जारी गरेको सूचनामा नयाँ प्रणालीमा रूपान्तरणको प्रक्रियाका कारण राहदानी आवेदन तथा सेवा प्रवाहमा अस्थायी रूपमा सीमितता आउन सक्ने उल्लेख गरिएको छ।
कार्यालयका अनुसार विभागले नयाँ सेवा प्रदायकमार्फत राहदानी जारी गर्ने प्रणाली अन्तिम चरणमा पुर्याएको छ। प्रारम्भिक कार्यतालिकाअनुसार आगामी असार २६ गतेदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
नयाँ प्रणाली लागू गर्नुअघि तोकिने ‘कट–अफ डेट’ भन्दा कम्तीमा एक साताअघि हाल सञ्चालनमा रहेको आवेदन प्रणाली बन्द गरिनेछ। त्यस अवधिमा नयाँ प्रणालीमार्फत दर्ता भएका आवेदनहरू स्थानीय प्रणालीमा मात्र सुरक्षित रहनेछन् भने कट–अफ डेटअघि ती आवेदनको थप प्रक्रिया अघि बढाइने छैन।
नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि पुरानो प्रणालीमा बाँकी रहेका सबै आवेदनको प्रक्रिया पूरा गरी आवश्यक विवरण नयाँ प्रणालीमा स्थानान्तरण गरिने जिल्ला प्रशासनले जनाएको छ।
सूचनाअनुसार नयाँ प्रणाली कार्यान्वयनपछि करिब तीन महिनासम्म ‘स्टेबिलाइजेसन’ अवधि रहने भएकाले राहदानी सेवा प्रवाहमा केही ढिलाइ वा सीमितता देखिन सक्नेछ। सम्भावित असहजतालाई ध्यानमा राख्दै सेवाग्राहीलाई आवश्यक योजना बनाएर समयमै सेवा लिन प्रशासनले आग्रह गरेको छ।
प्रशासकीय अधिकृत मणिभूषण साहद्वारा जारी सूचनामा सेवा प्रवाहका क्रममा हुन सक्ने असुविधाप्रति सेवाग्राहीको सहयोग र सहकार्यको अपेक्षा पनि गरिएको छ।


