२० वर्षदेखि फरार रहेका कर्तव्य ज्यानका दोषी कैलालीबाट पक्राउ
कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका टीकापुर नगरपालिका–१ बनगाउँका अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घर्ती मगर २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो।
पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


