झापामा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
झापा । झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता भएको सामूहिक जाहेरीअनुसार शिक्षक दुर्गा शिवाकोटीले छात्राहरूलाई विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको तथा घटना सार्वजनिक नगर्न धम्की दिएको आरोप लगाइएको छ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख गरिएका आरोपका आधारमा शिवाकोटीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको छ। घटनासम्बन्धी थप विवरण संकलन तथा आवश्यक प्रमाण जुटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपालको कानुनी व्यवस्थाअनुसार बालबालिकामाथिको यौन दुर्व्यवहार गम्भीर फौजदारी अपराध हो। यस्ता घटनामा पीडितको गोपनीयता संरक्षण, मनोसामाजिक सहयोग तथा निष्पक्ष अनुसन्धानलाई प्राथमिकता दिने व्यवस्था रहेको छ। प्रहरीले सबै पक्षसँग बयान लिने र आवश्यक प्रमाण संकलन गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
यता, आरोपित शिक्षक शिवाकोटीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार कक्षा १० को परीक्षा चलिरहेका बेला एक विद्यार्थीले प्रश्न नबुझेको बताएपछि आफूले प्रश्न पढेर सुनाएका थिए। त्यसपछि विद्यार्थीले लगाएको घडी देखेर सामान्य रूपमा “तिमीले राम्रो घडी लगाएकी रहेछौ, कसले किनिदिएको?” भनेर सोधेको मात्र दाबी गर्दै उनले आफूबाट कुनै पनि प्रकारको दुर्व्यवहार नभएको बताएका छन्।


