अख्तियारको मुद्दापछि ठाकुरको सम्पत्तिमाथि प्रश्न, थप अनुसन्धानको माग

सञ्जय मिश्रा/रौतहट, २० असार। रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सम्पत्ति, कार्यशैली र विगतका गतिविधिमाथि समेत स्थानीय स्तरमा व्यापक चर्चा सुरु भएको छ।

तत्कालीन पिपरा पोखरिया गाविसमा २०५५ सालमा प्राविधिक सहायक पदबाट सरकारी सेवामा प्रवेश गरेका ठाकुर त्यसपछि जिल्ला विकास समिति रौतहटमा सरुवा भई प्रशासनिक जिम्मेवारीमा पुगेका थिए। जिल्ला विकास समितिको प्रशासन शाखाको नेतृत्व सम्हाल्ने क्रममा कर्मचारी भर्ना, सरुवा र बढुवालगायतका प्रशासनिक काममा आर्थिक चलखेल हुने गरेको आरोप उनीमाथि वर्षौंदेखि लाग्दै आएको स्थानीयहरूको दाबी छ। यद्यपि ती आरोपहरू अदालतबाट प्रमाणित भएका सार्वजनिक अभिलेख उपलब्ध छैनन्।
 
उनीमाथि जिल्ला विकास समितिको स्वामित्वमा रहेको जग्गा बिक्री प्रकरणमा समेत नाम जोडिएको चर्चा भए पनि उक्त विषयमा उनीविरुद्ध कानुनी कारबाही भएको वा अदालतबाट दोषी ठहर भएको सार्वजनिक प्रमाण फेला परेको छैन। त्यसपछि तत्कालीन स्थानीय विकास अधिकारी रामआशीष दासले २०६६ सालमा उनलाई जिल्ला विकास समितिको प्रशासन शाखामा सरुवा गरी महत्वपूर्ण जिम्मेवारी दिएका थिए।
 
देश संघीय संरचनामा गएपछि जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रूपान्तरण भए पनि ठाकुर प्रशासन शाखा प्रमुखकै रूपमा कार्यरत रहे। पछि बढुवा हुँदै उनी राजपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक सरुवा गरे पनि उनी लामो समयसम्म राजपुर नगरपालिकामै प्रभावशाली रूपमा कार्यरत रहेको स्रोतको दाबी छ।
 
यसबीच ठाकुरको सम्पत्तिलाई लिएर पनि विभिन्न प्रश्न उठिरहेका छन्। सामान्य आर्थिक अवस्थाबाट सरकारी सेवामा प्रवेश गरेका उनले हाल रौतहटको गौर–५ मा करिब डेढ कठ्ठा जग्गामा तीनतले पक्की घर निर्माण गरेका छन्। जिल्लाका विभिन्न बजार तथा अन्य सहरमा समेत उनको तथा आफन्तहरूको नाममा जग्गा रहेको स्रोतको दाबी छ।
 
यद्यपि ती सम्पत्तिको स्रोतबारे सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान भएको सार्वजनिक जानकारी छैन। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै ठाकुरको आय–व्यय, सम्पत्तिको स्रोत तथा सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी विषयमा समेत अनुसन्धान हुनुपर्ने आवाज स्थानीय स्तरमा उठ्न थालेको छ।
 
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजपुर नगरपालिका–५ स्थित जनता नमुना माध्यमिक विद्यालयको ८ कोठे प्रिस्कुल ब्लक निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित चार जनाविरुद्ध विशेष अदालतमा शुक्रवार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 
आयोगका अनुसार बहुवर्षीय गुरुयोजनाअन्तर्गत निर्माण गरिएको भवनमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरिएको छ। सुरुमा ९७ लाख ३७ हजार ९९४ रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको लागत संशोधनपछि १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ पुर्‍याइएको थियो। निर्माण सम्पन्न भएपछि १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ खर्च भएको देखाइए पनि आयोगको स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम कम भएको भेटिएको आयोगले जनाएको छ।
 
अनुसन्धानका क्रममा नभएको कामलाई भएको देखाएर झुटो बिल, भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी सरकारी कोषलाई हानि पुर्‍याइएको आयोगको आरोप छ।

यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा लेखापाल शेख जाहिरविरुद्ध जनही ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖