लेटाङमा सिटी सफारी दुर्घटना, एक महिलाको मृत्यु
लेटाङ । मोरङको लेटाङमा शनिबार दिउँसो अनटेस्ट सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
लेटाङ पोखरीबाट लेटाङ बजारतर्फ आउँदै गरेको अनटेस्ट सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावती गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।
दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सिटी सफारी चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राई पनि सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


