प्रहरीको जवाफी फायरपछि भारतीय लागूऔषध कारोबारी पक्राउ, ब्राउन सुगर र कटुवा पेस्तोल बरामद
सिराहा, असार १९ — सिराहाको नेपाल–भारत सीमाक्षेत्रमा प्रहरीले जवाफी फायर गर्दा एक भारतीय लागूऔषध कारोबारी घाइते अवस्थामा पक्राउ परेका छन्। उनको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर र कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार असार १९ गते दिउँसो करिब २:३५ बजे नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याइँदै गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो।
प्रहरीका अनुसार भारतबाट BR 32 AR 6024 नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकलमा चार जना सवार भएर आउँदै थिए। चेकजाँचका क्रममा नम्बर नखुलेको मोटरसाइकलमा रहेका व्यक्तिहरू मोटरसाइकलसहित फरार भए भने BR 32 AR 6024 नम्बरको मोटरसाइकलमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि कटुवा पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेका थिए।
त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड जवाफी फायर गरेको थियो। उक्त क्रममा भारतको बिहार राज्य, मधुबनी जिल्ला, बिरपुर ग्राम पञ्चायत–३ निवासी करिब ३५ वर्षीय अब्दुल कलामको बायाँ खुट्टामा गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल, प्लास्टिकसहित १२२.८० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ तथा एक थान मोबाइल बरामद गरेको छ।
घाइते अब्दुल कलामको प्रादेशिक अस्पताल सिराहामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।


