धनकुटा सहित कोशी प्रदेशमा लागू औषध सहित ५ जना पक्राउ, १७५ किलोभन्दा बढी गाँजा बरामद
विराटनगर, असार २२ । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ।
कोशी प्रदेश प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १७५ किलो ५७० ग्राम गाँजा, १८ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित ट्रामाडोल ३९० क्याप्सुल, Dicyclomine ३९० ट्याब्लेट तथा २ वटा सवारी साधन बरामद गरिएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित कोशी लोकमार्गमा प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले को.२ त ४८९८ नम्बरको ट्याक्टरबाट १७५ किलो ५७० ग्राम गाँजासहित महालक्ष्मी नगरपालिका–४ का राजकुमार बयलकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, झापाको भद्रपुरमा वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले प्र.१–०१–०१२ प ९५३६ नम्बरको स्कुटरका चालक बिर्तामोड–९ का चन्द्रप्रसाद राजवंशीलाई १४ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, इलामको चुलाचुली–२ का रोहित कुमाललाई ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।
यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी–४ बाट इटहरी–६ का विवेक साहलाई ट्रामाडोल ३९० क्याप्सुल र Dicyclomine ३९० ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ।
उता, इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–३ का रञ्जित दासलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।


