सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलालाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्।
जिल्ला बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी–२ बस्दै आएका भट्टलाई पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका अनुसार भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


