कोशीमा असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २०८३ साल असार महिनाका लागि प्रहरी सहायक निरीक्षक (असई) गणेश थापा र प्रहरी हवल्दार रेवतीप्रसाद ढकाललाई ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र व्यावसायिक दक्षताका साथ उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उनीहरूलाई सम्मानित गरिएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी चौकी चाँदबेला, सुनसरीमा कार्यरत असई गणेश थापाले नियमित गस्तीका क्रममा ३ राउण्ड गोली लोड भएको एक थान चिनियाँ पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका थिए।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकालले जिल्लाका विभिन्न स्थानबाट ४७.२९ ग्राम ब्राउन सुगर, १८ हजार २१० ट्याब्लेट प्रतिबन्धित औषधि, तिनको ओसारपसारमा संलग्न व्यक्ति तथा सवारीसाधन नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनकै सक्रियतामा कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारबाट बेवारिसे अवस्थामा ३०८ किलोग्राम गाँजा तथा धरानका विभिन्न स्थानबाट ४०४ किलोग्राम गाँजा समेत बरामद गरिएको थियो। साथै अपराध अनुसन्धान, रोकथाम तथा फैसला कार्यान्वयनअन्तर्गत उल्लेख्य संख्यामा फरार प्रतिवादी पक्राउ गरी शान्ति–सुरक्षा कायम गर्न योगदान पुर्याएको प्रहरीले जनाएको छ।
उनीहरूले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले असार महिनाका लागि उनीहरूलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।


