तेह्रथुममा धारिलो हतियार प्रहार गरी महिलाको हत्या
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा सिमखर्कमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। घटनामा संलग्न आरोपित फरार रहेका छन्।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४० बजे घरायसी विवादका क्रममा ५१ वर्षीया रूपा लिम्बूमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक खेमबहादुर खत्रीका अनुसार घटनामा संलग्न रहेको आरोपमा ३८ वर्षीय कृष्णबहादुर लिम्बूको खोजी भइरहेको छ।
आरोपित फरार रहेकाले उनको खोजतलासका लागि इलाका प्रहरी कार्यालय आठराई र चुहानडाँडा प्रहरीचौकीबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


