मोरङमा मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना, चालकको मृत्यु
मोरङ । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडक खण्डमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार राति करिब १०ः३५ बजे विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक झापाको गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि रतुवामाई नगर अस्पताल, झुर्किया पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार मृतकको शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ।
इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानबाट चालकले मापसे गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।


