बागलुङ: जहाँ इतिहासले प्रकृतिसँग संवाद गर्छ
नियात्रा
–तोमनाथ उप्रेती ।
हरेक भूगोलको एउटा अनुहार हुन्छ, तर एउटा आत्मा पनि हुन्छ। अनुहार आँखाले देखिन्छ, आत्मा अनुभूतिले। बागलुङ त्यही आत्माको जिल्ला हो। यहाँ पुगेर मैले महसुस गरेँ प्रकृतिले मात्र मानिसलाई आकर्षित गर्दैन, इतिहासले पनि बोलाउँछ। आस्थाले पनि तान्छ। संस्कृति पनि यात्राको मौन निम्तो बन्छ।
बिहानको पहिलो किरणले धौलागिरिका हिमशिखरलाई स्पर्श गर्दा बागलुङ नवयौवनाले लजाएकी कुनै नववधूझैँ देखिन्थ्यो। कुहिरोको पातलो घुम्टो पहाडका काखमा बिस्तारै सरिरहेको हुन्थ्यो, मानौँ प्रकृतिले आफ्नै सौन्दर्यलाई एकैपटक प्रकट गर्न नचाहेर विस्तारै उद्घाटन गरिरहेकी हो। हरिया डाँडाहरूले एकअर्कालाई अँगालो हालेझैँ देखिन्थे, तिनका बीचबाट कालीगण्डकी चञ्चल युवतीझैँ नृत्य गर्दै बगिरहेकी थिई। नदीका छालहरूले किनारलाई बारम्बार चुम्बन गर्थे, तर त्यो स्पर्शमा कुनै अधैर्य थिएन, त्यहाँ केवल शाश्वत प्रेमको लय थियो। हावाले गुराँसका फूलहरूको सुगन्ध बोकेर वनका पातहरूमाथि सुम्सुम्याउँदा सम्पूर्ण वातावरण एउटा मादक तर निर्मल अनुभूतिले भरिन्थ्यो। फूलहरू हावासँग झुमिरहेका थिए, घाँसका टुप्पाहरू ओसका थोपासँग चम्किरहेका थिए र चराहरूको मधुर स्वरले प्रकृतिको अदृश्य प्रेमगीतलाई पूर्णता दिइरहेको थियो।
त्यो दृश्यमा आकर्षण थियो, जीवनलाई जीवनतर्फ तान्ने चुम्बकीय शक्ति थियो। प्रकृतिको सौन्दर्यमा एउटा सूक्ष्म श्रृङ्गार लुकेको हुन्छ, जसले सृष्टिलाई निरन्तर सिर्जनशील बनाइराख्छ। हिमाल र बादलको मिलन, नदी र किनारको अन्तरङ्गता, फूल र भमराको सहयात्रा, वर्षा र माटोको सुगन्ध यी सबै प्रकृतिका मौन प्रणयकथा हुन्। मानिसले प्रेमको भाषा लेख्नुभन्दा धेरै पहिले प्रकृतिले यी कथाहरू लेखिसकेकी थिई। बागलुङको सौन्दर्य पनि त्यस्तै थियो न शोर, न प्रदर्शन; केवल मौन आकर्षण। यहाँका पहाडले आकाशलाई अँगालो हाल्छन्, वनले हावालाई सुम्सुम्याउँछ, नदीले चट्टानसँग संवाद गर्छे र साँझले अस्ताउँदै गरेको सूर्यलाई कोमल अँगालोमा समेट्छे। त्यस क्षण मैले महसुस गरेँ संसारको सबैभन्दा पवित्र श्रृङ्गार प्रकृतिको हो र सबैभन्दा गहिरो प्रेम मौनतामा अभिव्यक्त हुन्छ।
बागलुङ भन्ने नामको उत्पत्तिबारे अनेक किंवदन्तीहरू प्रचलित छन्। कसैले संस्कृतको व्याघ्रलुञ बाट यसको व्युत्पत्ति भएको बताउँछन्, जहाँ व्याघ्र अर्थात् बाघ र लुञ अर्थात् काट्नु वा नाश गर्नु भन्ने अर्थ लाग्छ। कुनै समय यहाँ बाघहरूको अत्यधिक आतंक थियो र स्थानीय मगर वीरहरूले त्यस आतंकलाई अन्त्य गरेका कारण यो भूभाग बाघलुञ हुँदै बागलुङ बनेको जनविश्वास छ। अर्को किंवदन्तीले बाघहरूको लाम लाग्ने स्थान भएकाले बाघलुङ भनिएको र पछि अपभ्रंश भएर बागलुङ बनेको व्याख्या गर्छ। मगर भाषामा भने “वाग” ले उठेको भूभाग र “लुङ” ले समथर मैदान जनाउँछ। यस दृष्टिले हेर्दा बागलुङको भौगोलिक स्वरूप नै यसको नामको व्याख्या बनिदिन्छ।

(तोमनाथ उप्रेती)
मलाई तीमध्ये कुन कथा पूर्ण सत्य हो भन्नेभन्दा पनि एउटा कुरा बढी महत्त्वपूर्ण लाग्यो।समुदायले आफ्ना भूगोललाई केवल नक्साले चिन्दैन; कथाले चिन्छ। भूगोलको वास्तविक इतिहास अभिलेखमा मात्र लेखिएको हुँदैन, मानिसहरूको सामूहिक स्मृतिमा पनि सुरक्षित हुन्छ। लोककथाहरूले तथ्यको प्रतिस्पर्धा गर्दैनन्, तिनीहरूले पहिचानको संरक्षण गर्छन्। त्यसैले बागलुङको नाम शताब्दीहरूदेखि बाँचिरहेको सामूहिक चेतनाको प्रतीक हो।
बागलुङको इतिहास चौबीसे राज्यहरूको गौरवसँग जोडिएको छ। गल्कोट, बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोटजस्ता राज्यहरूले यो भूभागलाई राजनीतिक मात्र होइन, सांस्कृतिक पहिचान पनि दिएका थिए। डिम्ब मल्ल, नागबम मल्ल र प्रतापी नारायण मल्लजस्ता शासकहरूको कथा एउटा सभ्यताले आफूलाई कसरी निर्माण गर्यो भन्ने कथा हो। समयले राजाहरूलाई इतिहास बनायो, तर उनीहरूले निर्माण गरेका मूल्य, परम्परा र स्मृतिहरू आज पनि जीवित छन्।
यही इतिहासको एउटा उज्यालो अध्याय हो कालिका भगवती। बागलुङ बजारको माथिल्लो भागमा, कालीगण्डकी र काठेखोलाको पवित्र दोभानमाथि अवस्थित कालिका भगवती मन्दिर नेपाली सांस्कृतिक एकताको पनि प्रतीक हो। जनश्रुतिअनुसार प्रतापी नारायण मल्लले पाल्पासँग वैवाहिक सम्बन्ध गाँस्दा दाइजोका रूपमा प्राप्त भएको कालिका माताको मूर्ति यहाँ स्थापना गरेका थिए। समय बदलियो, शासन बदलियो, राजतन्त्र इतिहास बन्यो, तर कालिका आज पनि उस्तै श्रद्धाका साथ लाखौँ भक्तको विश्वासको केन्द्र बनेर उभिएकी छन्।
मन्दिर परिसरमा उभिँदा मलाई एउटा अनौठो अनुभूति भयो। त्यहाँ मानिसहरू आफ्ना दुःख बोकेर आउँछन् र आशा लिएर फर्किन्छन्। देवता साँच्चै मूर्तिमा बस्छन् वा बस्दैनन्, त्यो त आस्थाको विषय हो। तर आस्थाले मानिसलाई बाँच्ने शक्ति दिन्छ भन्ने कुरा निर्विवाद सत्य हो। त्यसैले मन्दिरहरू मानव मनका पुनर्जन्मस्थल हुन्।
घण्टी बजेको आवाज पहाडमा ठोक्किएर बारम्बार फर्किरहेको थियो। मलाई लाग्यो प्रार्थना आकाशसम्म पुग्छ कि पुग्दैन, त्यो थाहा छैन; तर आफ्नै अन्तरात्मासम्म भने अवश्य पुग्छ।
कालिकाबाट फर्किएपछि मेरो यात्रा पञ्चकोट धामतर्फ मोडियो। सात किलोमिटरको दूरीले भूगोल त छोट्याउँछ, तर चेतनाको दूरी भने धेरै लामो हुन सक्छ। पञ्चकोट धाममा पुगेपछि मैले त्यो दूरी अनुभव गरेँ। विशाल शिवमूर्ति, व्यवस्थित मन्दिर परिसर, शालिग्राम सङ्ग्रहालय र ध्यानमय वातावरणले यो स्थानलाई केवल धार्मिक गन्तव्य होइन, आध्यात्मिक विश्वविद्यालय बनाएको छ।
शालिग्रामहरू हेर्दा मलाई विज्ञान र अध्यात्मको अद्भुत मिलन देखियो। करोडौँ वर्षअघिका समुद्री जीवाश्महरू आज भगवान् विष्णुको प्रतीक बनेर पूजित छन्। विज्ञानले तिनलाई जीवाश्म भन्छ, धर्मले भगवान्। यी दुई दृष्टिकोण परस्पर विरोधी होइनन्; तिनीहरू सत्यलाई हेर्ने फरक-फरक झ्यालहरू मात्र हुन्। मलाई लाग्यो,जब विज्ञानले वस्तुको उत्पत्ति बुझाउँछ र अध्यात्मले त्यसको अर्थ खोज्छ, तब मात्र ज्ञान पूर्ण हुन्छ।
पञ्चकोटको शान्त वातावरणमा बस्दा मैले बुद्धको एउटा भाव सम्झिएँ बाहिरी यात्राको अन्तिम उद्देश्य अन्तर्मनको यात्रा हो। संसारका सबै तीर्थहरू अन्ततः मानिसलाई आफ्नै अन्तरात्मासम्म पुर्याउनका लागि बनेका हुन्। यदि त्यो यात्रा सम्पन्न भएन भने हजारौँ तीर्थको भ्रमण पनि अधुरै रहन्छ। त्यहाँ बसेका एक वृद्ध साधुले मलाई मुस्कुराउँदै भने, “मानिसले संसार जित्नुभन्दा पहिले आफूलाई जित्नुपर्छ।”
उनको वाक्य सुनेर मैले महसुस गरेँ—पहाड चढ्न कठिन छ, तर अहंकारबाट तल झर्न झन् कठिन छ। बागलुङको यो यात्राले मलाई अर्को गहिरो सत्य पनि सिकाउँदै थियो—सभ्यता केवल सडक, भवन र बजारले निर्माण हुँदैन। सभ्यता तब जन्मिन्छ, जब इतिहासले आफ्ना स्मृतिलाई जोगाउँछ, प्रकृतिले विनम्रता सिकाउँछ, र अध्यात्मले मानिसलाई आफ्नो सीमित अस्तित्वभन्दा माथि उठेर हेर्न प्रेरित गर्छ। यही अनुभूतिलाई हृदयमा सुरक्षित राख्दै म पुनः कालिका भगवतीको पवित्र प्राङ्गणतर्फ फर्किएँ। किनकि बागलुङलाई बुझ्न कालिकालाई बुझ्नैपर्छ। कालिकालाई नबुझी बागलुङको आत्मा पढ्न सकिँदैन।
मन्दिरको उचाइबाट तल बगिरहेकी कालीगण्डकीलाई हेर्दा मलाई लाग्यो नदी र देवी दुवै मातृत्वका दुई रूप हुन्। एउटीले जल दिन्छिन्, अर्कीले बल। एउटीले जीवनलाई प्रवाहित गर्छिन्, अर्कीले जीवनलाई दिशा दिन्छिन्। यही कारण होला, शताब्दीयौँदेखि लाखौँ श्रद्धालुहरू आफ्ना आशा, पीडा, विजय र पराजय बोकेर यहाँ आइपुग्छन्। उनीहरू केवल वरदान माग्न आउँदैनन्; उनीहरू आफ्नो थाकेको आत्मालाई पुनः जागृत गर्न आउँछन्।
कालिका मानव चेतनाको निर्भीक पक्ष हुन्। अन्यायका विरुद्ध उभिने साहस, अधर्ममाथि धर्मको विजय, भयमाथि विश्वासको उदय र अन्धकारमाथि प्रकाशको उद्भव यी सबै कालिकाका दार्शनिक रूप हुन्। देवीको मूर्तिमा मैले पत्थरभन्दा बढी प्रतीक देखेँ। त्यो आफ्नो भित्र लुकेको दुर्बलतालाई जित्ने मानवीय क्षमताको प्रतीक थियो। बाहिरी शत्रुलाई जित्नु वीरताको परिचय हुन सक्छ, तर आफ्नै लोभ, क्रोध, मोह र अहंकारलाई जित्नु नै वास्तविक विजय हो। सायद यही कारणले शक्ति–आराधना बाह्य युद्धभन्दा बढी अन्तर्मनको युद्धसँग सम्बन्धित छ।
मन्दिरमा घण्टी बजिरहेको थियो। धूपको सुगन्ध हावामा विलीन हुँदै थियो। आरतीको लयले वातावरणलाई अद्भुत शान्तिमा रूपान्तरण गरिरहेको थियो। मैले आँखा चिम्लिएँ। त्यो क्षण मलाई कुनै चमत्कारको आवश्यकता थिएन। केवल मौनता पर्याप्त थियो। किनकि कहिलेकाहीँ प्रार्थनाको उत्तर शब्दमा आउँदैन, आत्माको शान्तिमा आउँछ।
कालिका भगवतीको प्राङ्गणमा उभिँदा मैले अनुभव गरेँ देवालयको महानता त्यसको शिखरको उचाइले होइन, त्यहाँ पुगेपछि मानिसको चेतना कति उचो हुन्छ भन्ने कुराले मापन हुन्छ। यही कारण कालिका यस भूगोलको सांस्कृतिक मेरुदण्ड, ऐतिहासिक स्मृति र आध्यात्मिक चेतनाको अमर ज्योति हुन्। जसरी कालीगण्डकी निरन्तर बगिरहन्छे, त्यसरी नै कालिकाप्रतिको श्रद्धा पनि पुस्तौँदेखि पुस्तौँसम्म अविच्छिन्न रूपमा प्रवाहित भइरहेको छ। यहाँ आएपछि मैले बुझें शक्ति भनेको अरूमाथि प्रभुत्व जमाउने सामर्थ्य होइन, आफूभित्रको अन्धकारलाई प्रकाशमा रूपान्तरण गर्ने साधना हो र कालिका भगवती त्यही आत्मजागरणको शाश्वत प्रतीक हुन्।


