जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्दै प्रदेश प्रहरी प्रमुख खनालले दिए यस्तो निर्देशन
विराटनगर, साउन २५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरी प्रहरी अधिकृत तथा जवानहरूलाई जनसेवामा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन्।
साउन २५ गते भएको निरीक्षणका क्रममा डीआईजी खनालले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका विभिन्न शाखा र कार्यालयहरूको निरीक्षण गरेका थिए। त्यसक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै उनले प्रहरी आफैं समस्याको कारक नभई समाधानको माध्यम बन्नुपर्ने बताए।
उनले कानुन तथा ‘चेन अफ कमान्ड’को पूर्ण पालना गर्दै पारदर्शी रूपमा प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए। सामाजिक सञ्जालको मर्यादित प्रयोग, सूचनाको गोपनीयता कायम राख्न तथा कसैको दबाब, प्रभाव वा प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्न पनि उनले आग्रह गरे।
सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा पैठारी र लागूऔषध नियन्त्रणका लागि कडाइका साथ चेकजाँच तथा अपरेसन सञ्चालन गर्न उनले निर्देशन दिए। त्यस्तै, पेन्डिङ मुद्दा फर्छ्यौट, साइबर अपराध, अनलाइन ठगी, स्क्यामिङ, बेटिङ तथा हुण्डीजस्ता अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि उनले प्रहरीलाई निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने गतिविधिमाथि कडा निगरानी राखी कानुनी कारबाही गर्नुपर्नेमा जोड दिँदै खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँग सद्भाव र भाइचारा अभिवृद्धि हुने गरी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिए।
त्यस्तै, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र आगामी दिनमा विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन उनले निर्देशन दिएका छन्। आपराधिक गतिविधि नियन्त्रणका लागि आवश्यक सुरक्षा रणनीति अपनाउनसमेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले डीआईजी खनाललाई मोरङ जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।

