घारा हाइड्रोपावरमा पहिरो, एक जना बेपत्ता र एक घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ५ः१० बजे हाइड्रोपावरमाथिबाट ढुंगासहितको पहिरो खसेको हो। पहिरो खस्दा हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ का अन्दाजी ५५ वर्षीय दिपक बरुवाल पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
पहिरोबाट खसेको ढुंगाले हाइड्रोपावरमा काम गर्न जाने क्रममा रहेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकलाई लागेको थियो। ढुंगाले लागेर उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ।
घाइते विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बेपत्ता बरुवालको खोजीका लागि भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।

