झापा र मोरङका विभिन्न स्थानबाट लागूऔषध सहित तीन जना पक्राउ
विराटनगर, साउन २६ गते । झापा र मोरङका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
झापाको झापा गाउँपालिका–५ स्थितमा साउन २५ गते प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १२ प ३७३ नम्बरको मोटरसाइकललाई शंकास्पद रूपमा जाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का ३१ वर्षीय धिरज गुरुङ र मोटरसाइकलको पछाडि सवार झापा गाउँपालिका–२ का २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी रहेका छन्। उनीहरूको साथबाट २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोरङको रंगेली नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००४ ह ६७७० नम्बरको ई–रिक्सालाई शंकास्पद रूपमा जाँच गर्ने क्रममा सोही स्थानका ३० वर्षीय सुनिल कुमार मण्डललाई पक्राउ गरेको छ।
मण्डलको साथबाट ६२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

