श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान् पक्राउ
राजविराज । सप्तरीमा श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ परेका एक पुरुषमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–१ शिशुवारी मुसहरी टोलका ५६ वर्षीय कोसिया सदालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार साउन २० गते साँझ करिब ६ बजे कोसियाले मादक पदार्थ सेवन गरी आफ्नी करिब ५२ वर्षीया श्रीमती फुलकुमारी सदालाई कुटपिट गर्नुका साथै इँटाले टाउकोमा प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी फुलकुमारीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान, सिराहा पठाइएको थियो।
घटनापछि प्रहरीले कोसियालाई नियन्त्रणमा लिएर सुरुमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको थियो। सो मुद्दामा सप्तरी जिल्ला अदालतबाट साउन २० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको थियो।
तर, उपचारका क्रममा साउन २४ गते बिहान करिब ३ः३० बजे फुलकुमारीको प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीको मृत्यु भएपछि मृतककी छोरी लिला सदाले दिएको जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरिएको हो।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट साउन २४ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी कोसियामाथि थप अनुसन्धान भइरहेको छ।

