विराटनगरबाट ब्राउन सुगर सहित एक जना पक्राउ
विराटनगर, साउन २६ गते । मोरङमा प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१४ बस्ने ३५ वर्षीय शंकर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार साँझ करिब ७ बजे विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७०० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


