एकैदिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति चोरीका सामान सहित पक्राउ
ललितपुर । ललितपुरमा विभिन्न पाँच स्थानमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन्।
प्रहरीका अनुसार साउन २२ गते बिहान करिब ८ बजे ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरकोठामा चोरी भएको थियो। चोरीको घटनापछि प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको समेत अध्ययन गरी चोरीमा संलग्न व्यक्तिको खोजी थालेको थियो।
खोजतलासका क्रममा प्रहरी वृत्त सातदोबाटो, ललितपुरबाट खटिएको टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा सुरज महर्जनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले बोकेको ‘CAT’ लेखिएको कालो रंगको झोलाभित्र चोरी गरी ल्याएको सुनचाँदीका गरगहनासहित विभिन्न सामान फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार महर्जनको साथबाट सुनजस्तो देखिने धातुका विभिन्न गरगहना, चाँदीजस्तो देखिने गरगहना, ह्वाइट गोल्ड तथा डायमण्डजस्तो देखिने औँठी, पुराना तथा नयाँ सिक्का, नगद र लेडिज झोलाहरू बरामद भएका छन्।
बरामद भएका सामान
सुनजस्तो देखिने धातुका गरगहना :
* रातो पोतेसहितको नौगेडी पौते–१, तौल ८१.७३ ग्राम
* हार–१, तौल १४.८६ ग्राम
* झुमका पिँजडा–१ जोर, तौल ६.७८ ग्राम
* कानमा लगाउने झुमका–१ जोर, तौल ८.०२ ग्राम
* औँठी–१, तौल ५.१८ ग्राम
* सिक्री–१, तौल १५.२८ ग्राम
* सिक्री–१, तौल १०.८२ ग्राम
* रातो पोतेमा भएको तिलहरी–१, पोतेसहित तौल २३९.०७ ग्राम
* चुरा/बाला–४, तौल ८३.९१ ग्राम
चाँदीजस्तो देखिने धातुका गरगहना :
* औँठी–३, तौल १३.४८ ग्राम
* चाबी झुण्ड्याउने रिङ, तौल ६०.३६ ग्राम
* हार–१, तौल ५४.५९ ग्राम
* हनुमानको लकेटसहितको सिक्री–१, तौल १४.९१ ग्राम
* ब्रासलेट–१, तौल २४.१३ ग्राम
* पाउजु–१ जोर, तौल १३.२८ ग्राम
त्यस्तै, ह्वाइट गोल्ड डायमण्डजस्तो देखिने औँठी–१, ह्वाइट गोल्ड डायमण्ड जुलीजस्तो देखिने सामग्री–१, पुराना तथा नयाँ सिक्का, नगद ११ हजार ३९० रुपैयाँ, ‘Bessie’ लेखिएको खैरो लेडिज झोला–१ र ‘Baggit’ लेखिएको कालो लेडिज झोला–१ समेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका महर्जनविरुद्ध चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


