थबाङमा पहिरोले घर तथा गोठ पुरिँदा ३ जनाको मृत्यु, ९ जना बेपत्ता
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। घटनामा २ जना घाइते भएका छन् भने ९ जना बेपत्ता भएका छन्।
पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ बस्ने १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
पहिरोमा परी थबाङ गाउँपालिका–५ कै २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको अवस्था तथा उपचारसम्बन्धी थप विवरण आउन बाँकी छ।
यसैगरी पहिरोमा परी ९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कमल पुन मगरकी ४० वर्षीया छोरी जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
अविरल वर्षाका कारण पहिरो खस्दा घर तथा गोठ पुरिएको हो। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीयवासी परिचालन भएका छन्। घटनाबारे थप विवरण तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


