बिलबिजकबिनाको ११ किलोभन्दा बढी चाँदीका गरगहना बरामद
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले बिलबिजक नभएका ११ किलो ६८२ ग्राम चाँदीका विभिन्न गरगहना तथा तयारी सामान बरामद गरेको छ।
शुक्रबार बिहान करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमाण्डमा खटिएको टोलीले बीपी राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा को १ च ८६६२ नम्बरको सुमो गाडी रोकी जाँच गरेको थियो।
मोरङको लेटाङ नगरपालिका–६ का करिब ३६ वर्षीय पदमबहादुर विकले चलाएको उक्त सुमोमा जाँच गर्ने क्रममा मोरङ उर्लाबारी नगरपालिका–६ का करिब ४४ वर्षीय खगेन्द्र गजमेरले ल्याएको कार्टुनभित्र बिलबिजक नभएका चाँदीका विभिन्न गरगहना तथा तयारी सामान फेला परेको प्रहरीले जनाएको छ।
सामानको बिल तथा आवश्यक कागजात माग गर्दा देखाउन नसकेपछि प्रहरीले सुमो गाडी, चालक विक र सामान ल्याउने गजमेरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय गौचरण, काठमाडौं पठाएको छ।
बरामद चाँदीका सामान नजिकैको मान्यता प्राप्त तराजुमा तौल गर्दा ११ किलो ६८२ ग्राम रहेको र यसको अन्दाजी मूल्य ४७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद सामानमा कल्ली, जन्तर, जन्तर माला, विभिन्न प्रकारका ब्रासलेट, पोते माला, ढुङ्गी, बुलाकी, टप, औँठी, झुम्का, शिरबन्दी, बल माला, कानमा लगाउने रिङ, चुरा, पाउजु र खड्कुलोलगायतका चाँदीका गरगहना तथा तयारी सामान रहेका छन्।
:::


