कोशी प्रदेशका १२०० बढी पत्रकारहरूको दुर्घटना बीमा ,धनकुटाबाट मात्र करिब ८० जनाको बीमा गरियो
नारायण कुमार राई /धनकुटा,९ भदौ । कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका पत्रकारका लागि “पत्रकार दुर्घटना बीमा कार्यक्रम” आजबाट सुरु भएको छ ।
सरकारको सहयोगमा सुरु गरिएको बिमा कार्यक्रमको आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगरमा एक कार्यक्रम गरेर उद्घाटन गरेको छ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिम्मत कार्कीले गर्नुभएको छ ।
१० लाख बराबरको उक्त बीमा कार्यक्रममा कोशी प्रदेशका १,२२७ जना पत्रकारहरूको बीमा गरिएको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा कुमारी चेम्जोङले जानकारी दिनुभयो।
धनकुटाबाट करिब ८० जना पत्रकारहरूको बीमा गरिएको नेपाल पत्रकार महासंघ धनकुटाले जानकारी दिएको छ ।
एक वर्ष अवधि रहेको यस कार्यक्रम, आगामी वर्षहरूमा पनि निरन्तर कायम राख्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशले निरन्तर पहल गर्ने अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो।

