धनकुटाको सिधुवा बजारको होटलमा ४२ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेला
धनकुटा,भदौ ११ । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवा बजारस्थित एक होटलमा ४२ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार तेह्रथुमको छथर गाउँपालिका–६ का ४२ वर्षीय कमल सुनार (बि.क.) भदौ ९ गते साँझ फ्रेन्डसिप होटलमा आएर बसेका थिए। उनी त्यसपछि कोठाबाट बाहिर ननिस्किएपछि आज भदौ ११ गते करिब ११ बजे कोठाको झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार सुनारले कोठाको भित्तामा ठोकिएको काठको बटममा कपडाको सलको पासो लगाएका थिए।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल मुचुल्का गरी जिल्ला अस्पताल धनकुटामा पोस्टमार्टम गराएको जनाएको छ।
पोस्टमार्टमपछि मृतकको शव आफन्तले बुझेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


