धनकुटाको पाख्रीबास नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ३० लाख २३ हजार रुपैयाँ सहयोग गर्ने
धनकुटा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपैयाँ सहयोग गर्ने भएको छ।
पाख्रीबास नगर कार्यपालिकाको भदौ १५ गते बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिको सेवा सुविधाबाट १ लाख ५३ हजार रुपैयाँ, नगरपालिकामा कार्यरत कर्मचारीको तलब स्केलबाट ६ लाख ४८ हजार ९४२ रुपैयाँ र नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब स्केलबाट १७ लाख २१ हजार ६७२ रुपैयाँ सहयोग गरिनेछ।
यसरी जम्मा हुने कुल रकम ३० लाख २३ हजार ६१४ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै बाढीका कारण घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभ र पुनर्स्थापनाको कामना गरेको छ।
विपद्को विषम परिस्थितिमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।


