भरुवा बन्दुक सहित संखुवासभाबाट एक जना पक्राउ,वेवारिसे एक भरुवा बन्दुक बरामद
संखुवासभा, भदौ १६ गते । संखुवासभाको मकालु गाउँपालिका–५ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही वडाको छुट्टाछुट्टै स्थानबाट थप एक थान बेवारिसे भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
भदौ १५ गते मकालु गाउँपालिका–५ का २९ वर्षीय सिताराम गुरुङले भरुवा बन्दुक लुकाइछिपाइ राखेको विशेष सूचना पाएपछि प्रहरी चौकी नुमबाट खटिएको टोलीले उनको घर खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र लुकाइराखेको अवस्थामा एक नाल भरुवा बन्दुक, १०० ग्राम तयारी बारुद र २० थान छर्रा फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो।
यसैगरी, मकालु गाउँपालिका–५ स्थित मांसिमाको ढुङ्गाको ओडारमा बेवारिसे अवस्थामा रहेको अर्को एक नाल भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ। उक्त बन्दुकसँगै छर्रा, फलामका टुक्रा, बारुद र पटाका समेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


