धनकुटाको हिले र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसल अनुगमन : एक सिलबन्दी, चारको प्रमाणपत्र जफत
धनकुटा । धनकुटाको हिले र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलमा अनुगमन गर्दा विभिन्न कमजोरी भेटिएपछि एउटा पसल सिलबन्दी गरिएको छ भने चारवटा फार्मेसीका सञ्चालकलाई औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला स्वास्थ्य कार्यालय धनकुटा तथा प्रहरीको संयुक्त टोलीले भदौ १६ गते हिले बजार र पाख्रिबास क्षेत्रमा रहेका औषधि पसलको अनुगमन गरेको हो।
अनुगमनका क्रममा पाख्रिबास पाथीभरा औषधी पसल, पाख्रिबास–४ लाई सिलबन्दी गरी बन्द गरिएको छ।
त्यस्तै हिले फार्मेसी, हाम्रो बुद्ध फार्मेसी, भगवती बक्रकुण्ड फार्मेसी र उज्यालो मेडिकल हल मा विभिन्न मापदण्ड पालना नगरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ। ती पसलका सञ्चालकलाई विभागमा उपस्थित हुन निर्देशन दिइएको र दर्ता प्रमाणपत्र जफत गरिएको जनाइएको छ।
अनुगमनका क्रममा कतिपय पसलमा दर्ता नभएका औषधि सञ्चय, फ्रिजमा राख्नुपर्ने औषधि उचित रूपमा नराखिएको, Pregabalin औषधिको बिक्री–वितरण अभिलेख नराखिएको, म्याद सकिएका औषधिका लागि ‘Expiry Zone’ व्यवस्था नगरिएको तथा बिक्री गर्न नमिल्ने ‘Physician Sample’ औषधि सञ्चय गरिएको पाइएको थियो।
त्यसैगरी केही औषधि भुइँमा राखेर भण्डारण गरेको र फ्रिजमा राख्नुपर्ने औषधि उचित अवस्थामा नराखिएको समेत भेटिएको प्रतिवेदनमा उल्लेख छ।
अनुगमन टोलीले दिव्या फार्मेसी, हाइखिम फार्मेसी र जनसेवा मेडिकल हल लाई भने सामान्य अवस्थामा रहेको जनाएको छ।


