रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै मृत फेला
रौतहट, १७ भदौ। रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय साह बुधबार बिहान आफ्नै घरको ढोकाको चौकसमा धोतीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार घटनाबारे बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय राजपुरमा जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो।
इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी वरिष्ठ सई चेतप्रसाद फुयालको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको कमाण्डमा अर्को टोलीसमेत खटाइएको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय राजपुरबाट करिब ३ किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ। साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
घटनाको कारण अझै खुलेन
८८ वर्षीय वृद्धको मृत्युको घटना भएकाले यसको वास्तविक कारणबारे विभिन्न प्रश्न उठेका छन्। यद्यपि, प्रहरीले घटनालाई लिएर अहिलेसम्म कुनै निष्कर्ष सार्वजनिक गरेको छैन।
प्रहरीले घटनास्थलको अवस्था, प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टका आधारमा मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ। त्यसैले घटनालाई लिएर तत्काल कुनै निष्कर्ष निकाल्नुभन्दा अनुसन्धानको प्रतिवेदन कुर्नुपर्ने देखिन्छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, घटनाको खबर फैलिएपछि पूर्वसांसद साहको निवासमा आफन्त, स्थानीयवासी तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ। परिवारमा परेको दुःखद घटनाप्रति स्थानीयस्तरमा समेत शोक व्यक्त गरिएको छ।


