भोजपुरमा शिक्षक हत्या आरोपमा ११ जना पक्राउ
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भदौ ११ गते राति करिब ११ः४५ बजे साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेलामा आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईमाथि कुटपिट भएको थियो। राई स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार पुरानो विवादलाई लिएर राईलाई केही व्यक्तिले कुटपिट गरेका थिए। कुटपिटपछि उनको मृत्यु भएको मौखिक सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ १२ गते ११ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई भोजपुर जिल्ला अदालतबाट भदौ १४ गते पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–७ का २१ वर्षीय प्रवेस भन्ने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतिक राई, २५ वर्षीय माइकल भन्ने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेरबहादुर भन्ने अमर राई, ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


